७ बैशाख २०८२, आईतवार
बाँकेमा वैशाखमा मात्रै १६७ को मृत्यु, १० हजार बढी संक्रमित

  • संजय मण्डल

  • १ जेष्ठ २०७८, शनिबार १७:१६

नेपालगञ्ज :गत वर्षको तुलनामा यो वर्ष बाँकेमा कोरोनाको संक्रमणका कारण मृत्युदरमा तीव्र वृद्धि देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको एक विश्लेषणका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले मृत्युदरमा बढी देखिएको छ।वैशाख महिनाभर बाँकेमा कोरोना संक्रमणका कारण १ सय ६७ जनाले ज्यान गुमाएका छन्। यो संख्या कोरोनाको पहिलो लहरभन्दा तीन गुणाले बढी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

बाँकेमा कोरोनाको पहिलो लहर सुरु भएको २०७७ वैशाख १९ गतेदेखि चैत अन्तिमसम्म ५८ जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन वलीले बताए। ‘वैशाख महिनाको मृत्युदर मात्रै हेर्ने हो भने पनि कोरोनाको दोस्रो लहर भयानक रहेको देखाउँछ’  वलीले भने, ‘वर्षभर मृत्यु हुनेको संख्याभन्दा वैशाख महिनामै मृत्युदर ३ गुणा पुगिसकेको देखिन्छ।’ २०७८ वैशाख १९ गतेदेखि शुक्रबारसम्म कोरोना संक्रमणबाट बाँकेका २ सय २५ को मृत्यु भएको थियो।

ती मध्ये ५८ जनाको २०७७ साल र १ सय ६७ जनाको पछिल्लो एक महिना वैशाखमा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ। बाँकेमा कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा नै ठूलो संख्यामा नयाँ कोरोना संक्रमित थपिएको तथ्यांकले देखाउँछ। गत वर्ष बाँकेमा ४ हजार ९ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसवर्षको वैशाख महिनामा मात्र जिल्लामा १० हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन वलीले जानकारी दिए। ‘वैशाख महिनामा मात्रै गत वर्षभन्दा दोब्बर बढी नयाँ संक्रमितहरू थपिएका छन्’ उनले भने, ‘नयाँ संक्रमित थपिने र अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरुको संख्या समेत बढिरहेको छ।’

बाँकेमा शुक्रबार साँझसम्म कुल कोरोना संक्रमितको संख्या १५ हजार ७२ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। अहिलेसम्म संक्रमितमध्ये ११ हजार १ सय ७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा शुक्रबार जिल्लामा थप ५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा २ सय १९ महिला र २ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए। भेरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणमा १ सय ४९ महिला र २ सय २२ जना पुरुष गरी ३ सय ७१, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा ४३ महिला र ३९ पुरुष गरि ८२ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा २७ महिला र ३५ पुरुष गरी ६२ जनामा संक्रमण पुष्टि भएको हो पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ४८ महिला र १ सय ७५ पुरुष गरेर ३ सय २३ जना कोरोना जितेर डिस्चार्ज भएको फोकल पर्सन वलीले जानकारी दिए। पछिल्लो २४ घण्टामा जिल्लाभित्र र बाहिरका गरेर बाँकेमा १५ जनाको मृत्यु भएको थियो। तीमध्ये बाँकेका ८ र जिल्लाबाहिरका ७ जना छन्।

Nabintech