१५ बैशाख २०८१, शनिबार
कोहलपुरमा दुई महिने आईसीयू संचालन सम्बन्धित तालिम सुरु

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७८, सोमबार १६:१४

बाँकेका कोहलपुरमा रहेको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई महिने आईसियू संचालन सम्बन्धी तालम सुरु गरिएको छ । पश्चिम नेपालमै पहिलो पटक सुदूरपश्चिम प्रदेशका मेडिकल अधिकृत तथा नर्सिङ कर्मचारीलाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो । यसअघि यस्ता तालिमहरु काठमाडौंमा हुने गरेका थिए । यो पटक भने मोफसल बाहिर मेडिकल कलेज कोहलपुरमा आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना तथा लर्डबुद्ध एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको तालिमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशका सरकारी अस्पतालका मेडिकल अधिकृत तथा नर्सिङ स्टाफहरुलाई आईसीयू संचालनदेखि क्रिटिकल केशहरुको व्यवस्थापनमा दक्ष बनाउन तालिम आयोजना गरिएको बताएका छन् । साथै उनले सुदुरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउँदै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यले सुदुरपश्चिम प्रदेशका डाक्टरहरुले तालिम उपलब्ध गराई जनताको सेवामा खट्न अनुरोध गरेका छन् ।
तालिम उद्घाटनमा बोल्दै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिमको स्वास्थ्यलाई गुणस्तरीय र प्रभावकारी गराउनका लागि यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुरेसकुमार कनोडियाले सिकेको सीपलाई व्यवहारीकरुपमा कार्यान्वयनमा लैजान सुझाव दिनुभयो । विभिन्न अस्पतालका ९ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सगरी २४ जना सहभागी रहेको तालिममा एनेस्थेसिया विभागका प्रा.डा. रेशमबहादुर रानासहित, एसआइसीयू, एमआइसीयू इन्चार्जलगायतले तालिम दिने भएका छन् ।

Nabintech