१५ चैत्र २०८०, बिहीबार
दाङमा बढ्दै सङ्क्रमित, जटिल बन्दै स्वास्थ्य सेवा

  • टाइम्स संवाददाता

  • १४ बैशाख २०७८, मंगलवार ०८:०५

ङमा दिन प्रतिदिन कोरोना भाइरसका सङ्क्रमितहरू बढिरहँदा स्वास्थ्य सेवा भयावह बन्ने अवस्था देखिन थालेको छ । सङ्क्रमित बढिरहँदा जटिल प्रकारका बिरामीहरू राख्ने ठाउँको समेत अभाव भएको छ । दाङमा कोरोना सङ्क्रमिको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । केही दिनयता घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सङ्क्रमितको उपचार गर्न सुरु गरेको छ । तर यी दुवै अस्पताल काेराेनाका जटिल बिरामीले भरिएको छ । अन्य धेरैजसाे सङ्क्रमित घरमै रहेका छन् । तर घरमा भएका सङ्क्रमितबाट अरूमा पनि सङ्क्रमण देखिँदै जाने हो भने उनीहरूलाई उपचार गर्ने अस्पतालकाे समेत अभाव छ । कोरोना सङ्क्रमित बढिरहँदा समेत पालिकाले सङ्क्रमितलाई राखेर उपचार गर्ने अस्पताल बनाउन ध्यान दिन सकेका छैनन् । दिनहुँ बढिरहेको सङ्क्रमितको सङ्ख्याले दाङकाे पनि नेपालगञ्जकाे जस्तै अवस्था बन्ने हो कि भन्ने त्रास नागरिकमा फैलिन थालेको छ । दिन प्रतिदिन बढिरहेकाे कोरोना सङ्क्रमितको ग्राफले पनि त्यो सङ्केत देखाएको छ । सोमवार मात्र दाङमा एक सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिएकामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार पीसीआर परीक्षण गरिएका दुई सय दुईमध्ये एक सय ५२ जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६१ पुगेको छ ।  लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशभित्रका तीन कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री शङ्कर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने भएको छ । त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

Nabintech