१५ चैत्र २०८०, बिहीबार
बाँकेको ३०९ थपिए, १७७ डिस्चार्ज, बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ९ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०७८, बिहीबार १७:०१

बाँकेका तीन वटा प्रयोगशालामा ६ सय ७० नमुना परीक्षण गर्दा ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार भेरी अस्पतालमा ४ सय ३६ परिक्षण गर्दा २ सय ३२, मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा २१ जना र बागेश्वरी ल्याबमा १५० नमुना परीक्षण गर्दा ५६ जना गरि कुल ३ सय ९ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १ सय १९ जना छन् । ४४ जना महिला र ७५ जना पुरुष गरि जिल्लाका ११९ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७७ हजार ४२१ जनाको पीसीआर परीक्षण गरिएको छ । बिहीबार जिल्लामा १७७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ७६ जना महिला र १०१ जना पुरुष गरि कुल १७७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । बाँके जिल्लामा ६६८ जनाले होम आईसोलेसन र ३ सय ७१ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको संख्या १५३ रहेको छ ।
बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ९ जनाको मृत्यु
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा पाँचजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चारजना गरि थप ९ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका–२० बाँकेका ५७ वर्षीय पुरुष, जानकी गाउँपालिका–९ कैलालीका ७४ वर्षीया महिला, बासगढी नगरपालिका–५ बर्दियाका ७५ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–२० बाँकेका ५५ वर्षीया महिला हुनुहुन्छ । त्यस्तै उपचारका क्रममा पुनर्वास नगरपालिका–६ कंचनपुरका ४७ वर्षीया महिला, घोराही उपमहानगरपालिका–३ दाङका ५६ वर्षीया महिला र गुलरिया नगरपालिका–५ बर्दियाका ८० वर्षीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको छ । साथै नेपालगन्ज उपमहानगरपालिका–१८ बाँकेका ७३ वर्षीया महिला र कोहलपुर नगरपालिका–११ बाँकेका ६८ वर्षीया महिला पनि निधन भएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २६४ जना र जिल्लाकै २८६ जनाको मृत्यु भईसकेको छ ।

Nabintech