११ बैशाख २०८१, मंगलवार
नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, थप सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७८, मंगलवार १९:२२

नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् । भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले जनाएको छ । भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न पनि आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको रुपमा अल्फा र डेल्टालाई राखेको छ भने भेरिएन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पालाई राखेको छ । भेरिएन्ट अफ कन्सर्नलाई संक्रामक भाइरस मानिन्छ ।

Nabintech