१२ बैशाख २०८१, बुधबार
खेलाडी प्रारम्भिक चरणमै बाहिरिए, नेपालकाे टोकियो यात्रा सकियो

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७८, शुक्रबार १५:०५

नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो । नेपालबाट १० मिटर शूटिङमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती अन्तिमबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागी थिए । सरस्वतीले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सक्नुभएन । उहाँले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गर्नुभयो । पुछारमा पर्नुभएकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाउनुभयो । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पूरा गर्नुभएको थियो । दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पूरा गर्नुभएको थियो । दोस्रो हिटमा इरानकी फर्जानेह फैसिहीले ११.७६ सेकेण्डमा दूरी पार गर्दै पहिलो स्थानमा रहनुभयो । मलेसियाकी नबिला एलियास दोस्रो स्थानमा रहनुभयो । उहाँले ब्यक्तिगत प्रदर्शनमा सुधार गर्नुका साथै पहिलो राउण्डका लागि छनोट हुनुभयो । कुवेतकी अलशम्मारी तेस्रो भई पहिलो राउण्डमा छनोट हुनुभयो । सरस्वती युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी हुनुभएको थियो । प्रारम्भिक चरणमा तीन हिटमध्ये सरस्वती चौधरी दोस्रो हिटमा हुनुहुन्थ्यो । खेलाडीले स्पर्धा गरेका थिए । हरेक हिटका शीर्ष तीन र एक उत्कृष्ट समय निकाल्ने खेलाडी प्रथम राउन्डका लागि छनोट भएका छन् ।

Nabintech