१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका २२ जना थपिए, ३ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • ४ भाद्र २०७८, शुक्रबार १७:२३

बाँकेमा पछिल्लो २४ घण्टामा थप २२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३७ नमुना परीक्षण गर्दा २२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा गरिएको ५१ नमूना परिक्षणमा १४ जना, नेपालगञ्ज मेडिकल कलेजमा ६५ नमुना परीक्षण गर्दा ८ जना र बागेश्वरी ल्याबमा २१ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १२ जना छन् । ७ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९२ हजार २५२ नमुना परीक्षण गर्दा १७ हजार ८ सय ८९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । २ जना महिला र १ जना पुरुष गरी ३ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ४१४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या २४ पुगेको छ भने मध्यम बिरामीको संख्या ३३ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
कोभिडबाट दुई जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ कैलालीका २८ वर्षीय युवकको आज विहान मृत्यु भएको हो । भदौ एक गते भेरी अस्पताल भर्ना भएका उनको दुई गते कोभिड पुष्टि भएको थियो । त्यसैदिन उनलाई कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर स्वास्थ्यमा सुधार नहुँदा उनको विहान साढे ८ बजे मृत्यु भएको हो । त्यस्तै गुर्वाकोट नगरपालिका–५ सुर्खेतका ३९ वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनी १७ गते कोभिड पुष्टि भएका थिए । त्यसको तीन दिन पछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नआउँदा दिउँसो सवा एक बजेतिर उनको मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९० जनाको मृत्यु भएको छ ।

Nabintech