१६ चैत्र २०८०, शुक्रबार
नेपालले बंगलादेशलाई हरायो

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७८, बिहीबार १८:५६

फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।  बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रीतिले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा सहजै फिनिस गरेकी थिइन् । ४९औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रीति राईले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक रुप्ना चक्माले पञ्च गर्दै बचाउँदा नेपालले खेलमा थप अग्रता बढाउन सकेन । ६९औं मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेडर प्रयास गरेपनि भेट्न नसक्दा बंगलादेशले गोल अन्तर कम गर्न सकेन । ७९औं मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बचाउँदै नेपालको खतरा टारिन् । ८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दवाव झेलेको थियो । बंगलादेशले पहिलो हाफमा तुलनामा नेपाललाई दवाव दिएको थियो ।

दोस्रो मैत्रीपुर्ण खेल दोस्रो खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।

Nabintech