१५ चैत्र २०८०, बिहीबार
कक्षा १२ को परीक्षा आजदेखि

  • टाइम्स संवाददाता

  • ३० भाद्र २०७८, बुधबार ०८:५०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ । विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने जानकारी परीक्षा नियन्त्रक शर्माले दिनुभयो । सङ्क्रमण कम भएका कारण उत्तरपुस्तिका सङ्कलन गर्न लागिएको उहाँले बताउनुभयो । गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको थियो । यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ । आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिनुभयो । यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ ।

Nabintech