१३ बैशाख २०८१, बिहीबार
ईपीएल उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०७८, शनिबार १६:०१

बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लकाे उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंग्स ११ ले चाैथाे संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेकाे छ । शनिबार भएकाे उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेकाे हाे । ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंकाे जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

१५६ रनकाे लक्ष्य पछ्याउने क्रममा काठमाडौंकाे सुरुवात राम्राे हुन सकेन । ओपनर सुवास खकुरेल पहिलाे ओभरमा खाता नखाेली रनआउट भए भने अमित श्रेष्ठ दाेस्राे ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएकाे थियाे । तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै काठमाडौंकाे इनिङ्स सम्हाले । उनलाई रायन बर्लले गतिलाे साथ दिए । यी दुईले तेस्राे विकेटका लागि ७६ रनकाे साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चाैका र ४ छक्का मद्दतमा ५९ रन बनाए । ११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंकाे स्काेर ८८ पुगेको थियो । त्यसपछि बर्लले आक्रामक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए । बर्लले राजु रिजालसंग चाैथाे विकेटका लागि अविजित ७२ रनकाे साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए । बर्लले ३४ बल खेल्दै ३ चाैका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५ औं ओभरकाे दाेस्राे बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चाैका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चाैका मद्दतमा अविजित १९ रन बनाए ।
ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले पवन सर्राफकाे अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएकाे हाे । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । खेलकाे पहिलाे बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकाेडी २ रन बनाएर आउट भए । दाेस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डाेलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायाे । त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरकाे इनिङ्स सम्हाले । यी दुईले तेस्रो विकेटका लागि ५६ रनकाे साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए । त्यसपछि पवन र याेगेन्द्र सिंह कार्कीले पाँचाैं विकेटका लागि ६२ रनकाे साझेदारी गरे । दुवैलाई काठमाडौंका रायन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चाैका र ४ छक्का मद्दतमा ६१ रन बनाए । याेगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जाेडे । पहिलाे पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी रन्जुग मिक्याे दाेर्जीले अविजित १७ रन जाेडे । काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्सन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

Nabintech