१५ चैत्र २०८०, बिहीबार
बाँकेमा ३० हेक्टरमा चैते धान लगाउने तयारी

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७८, मंगलवार १६:४५

बाँकेमा बसन्ते बाली प्रर्वद्धन अभियान सञ्चालन गरिने भएको छ । जिल्लामा गठित कृषि विकास सञ्जालले सिञ्चित क्षेत्र लक्षित बसन्ते बाली प्रर्वद्धन अभियान सञ्चालन गर्न लागिएको हो । कृषि ज्ञान केन्द्र साथै अन्य कृषिमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्था सहितको सञ्जाल रहेको बाँकेमा खाली रहने जमिनलाई सदुपयोग गर्ने उद्देश्यले बसन्ते बाली तिर किसानलाई लाग्न प्रेरित गर्न लागिएको कृषि विकास सञ्जालका संयोजक तथा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । बसन्ते बाली प्रर्वद्धन अभियान अन्तर्गत १ हजार किसानलाई अभिमुखिकरण गराईने संयोजक ढकालले जनाउनुभयो । आज मंगलबार बसेको सञ्जालको बैठकले किसानहरुलाई बसन्ते खेतीको बारेमा जानकारी गराउने, चैते धान ३० हेक्टर क्षेत्रफलमा लगाउने गरी किसानलाई अभिमुखिकरण गरिने संयोजक ढकालले बताउनुभयो । चैते धान उत्पादन गर्न इच्छुक तोरी आलु लगायका किसानलाई सहभागी हुन सञ्जालले आग्रह गरेको छ । बसन्ते ऋतुमा गरिने खेतिहरु मकै, मुङ, मास, तरकारी लगाउन समेत किसानलाई सहजीकरणको भूमिका निभाउने सञ्जालले जनाएको छ। यो अभियान विशेषगरी सिँचाई सुविधा भएको क्षेत्र पहिचान गरी स्थानीय जनप्रतिनिधि तथा कृषि शाखासँग समन्वय गरेर सञ्चालन गरिने सञ्जालका सदस्य तथा किसान २ परियोजनाका टुक नारायण अर्यालले जानकारी दिनुभयो । सञ्जालले आफ्नै पहलमा यो अभियान सञ्चालन गर्न लागेको र यसका लागि कुनै बजेट विनियोजन नभएको बताउँदै उहाँले भैपरि आउने सामान्य खर्च सम्बन्धित कार्यालयले गर्ने गरी कार्यक्रम सुरु गर्न लागिएको उल्लेख गर्नुभयो । बसन्ते बाली प्रर्वद्धन अभियानका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमको अन्नबाली रोजेको स्मार्ट गाउँलाई समावेस गराउन पहल समेत गरिने संयोजक ढकालले जानकारी दिनुभयो । -किसान आवाजबाट

Nabintech