१४ बैशाख २०८१, शुक्रबार
एमालेमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार बन्न पाउने, एक व्यक्ति दुई कार्यकालको व्यवस्था

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७८, आईतवार १६:३६

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनले ७० वर्ष उमेर पूरा नभएसम्म पार्टीको उम्मेदवार बन्न पाउने व्यवस्था अघि सारेको छ । ७० वर्ष उमेर हदको सुझावप्रति जवाफ दिनुहुँदै उपमहासचिव विष्णुप्रसाद पौडेलले यदि कार्यकाल अवधिमा ७० वर्ष पूरा भयो भने उसले आफ्नो जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था रहने बताउनुभयो ।यसैगरी, एमालेमा एक कार्यकारी व्यक्ति दुई कार्यकालसम्म नेतृत्व गर्ने व्यवस्था रहने भएको छ । शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि जवाफ दिनुहुँदै एक व्यक्ति दुई कार्यकालको व्यवस्थालाई पार्टीमा थप महत्वका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

एमालेले ग-यो लोगो परिमार्जन 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनले पार्टीको आधिकारिक लोगो परिमार्जन गरेको छ । एमालेको विगतमा प्रयोग हुदै आएको लोगोभन्दा परिमार्जित लोगोमा सूर्य चिन्हभित्र रातो पृष्ठभूमिमा सुनौलो रंगको हसियाँ हथौडा अंकित गरिएको छ । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित लोगो पार्टी विधान महाधिवेशनले पारित गर्ने बताउनुभएको छ ।

एमालेमा आर्थिक विभाग प्रमुख कायमै, कोषाध्यक्ष पद नरहने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रतिवेदनबारे विधान महाधिवेशनका प्रतिनिधिहरुले राखेको सुझावमाथि जवाफ दिनुहुदै उपमहासचिव विष्णुप्रसाद पौडेलले पार्टीमा आर्थिक विभाग प्रमुख पद कायमै रहनुपर्ने बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र विभिन्न मातहतको सम्बन्धित कमिटीहरुमा कोषाध्यक्ष पद रहनुपर्ने सुझाव आएको तर पार्टीमा अभ्यास हुँदै आएको आर्थिक विभाग प्रमुख नै उचित रहने बताउनुभएको हो । ‘कोषको सिर्जना गर्ने, व्यवस्थापन, सदुपयोग गर्ने र आन्तरिक लेखा परीक्षण गराई महालेखापरीक्षणमा बुझाउने काम सम्बन्धित कमिटीको हो, पार्टीले उपयुक्त व्यक्ति छानेर यो जिम्मेवार दिनुपर्छ’, पौडेल बताउनुहुन्छ । विषय विज्ञता र इमानदारीता भएको व्यक्तिलाई सम्बन्धित कमिटीले सो जिम्मा दिन सक्नेछ ।

Nabintech