१३ बैशाख २०८१, बिहीबार
खान अयोग्य ५० किलो माछा जफत

  • टाइम्स संवाददाता

  • २० आश्विन २०७८, बुधबार १६:२८

बाँकेमा भैरहेको चाडपर्व लक्षित बजार अनुगमनको क्रममा नेपाल–भारत सीमानाका नजिक बुधवार ५० किलो खाना अयोग्य माछा जफत गरिएको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सीमानाका नजिकै खोलिएका पसलमा विक्रिमा राखिएको खान अयोग्य सो माछा नियन्त्रणमा लिएर नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईले बताउनुभयो । भारतबाट ल्याइएका गुणस्तरहीन सडेगलेका खान अयोग्य माछाहरु त्यहाँ विक्रि भैरहको सुचनाको आधारमा अनुगमन गर्दा सो भेटिएको चौलागाईले बताउनुभयो । सीमानाका नजिकै मुख्य राजमार्ग वरिपरि खोलिएका ती पसलहरु दर्ता समेत नरहेको पाइएको छ । दर्ता नरहेका पसल बन्द गराइएको पनि सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।
सीमानाका जमुनाह नजिकै नेपालतर्फ लामो समयदेखि केही व्यवसायीले पसल खोलेर भारतबाट ल्याइएका गुणस्तरहीन माछाहरु विक्रि गर्दैआएका थिए । चाडपर्वलाई लक्षित गरी संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनलाई तिव्र पारेकाबेला पाएको सुचनाको आधारमा सो क्षेत्रमा अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ । माछा विक्री गर्ने पसलमा फोहोर धेरै पाउनुका साथै खान नमिल्ने माछाहरु राखेर सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गरिरहेको पाइएकोले माछा जफत गरेर पसल नै बन्द गराइएको भेटेनरीका डा. रुपेन्द्र ओलीले बताउनुभयो । जिल्लाका धेरै कुखुराको मासु विक्रि गर्ने पसलमा पनि सरसफाई नदेखिएकाले ती पसलको पनि अनुगमन थालिएको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले चाडपर्वकाबेला हुने गुणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक वस्तुको बिक्री र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन टोलीलाई निर्देशन दिइएको बताउनुभयो । -गोरखापत्रअनलाईनबाट

Nabintech