१५ चैत्र २०८०, बिहीबार
बँदेल ठोकिएकाे विमान हटाइयाे, नेपालगञ्ज बिमानस्थल सुचारु

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार १६:४३

सीता एअरको बीमानमा बँदेल ठोक्किएपछि अवरुद्ध बनेको नेपालगञ्ज विमानस्थल पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९ एन–एएचबी नम्बरको बिमानसँग मंगलबार बिहान तीन वटा बँदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो । जहाजसंग ठोक्किएपछि तीनवटा बँदेलको शरीरका भाग धावन मार्गभरी छरिएकोले सो सफाई गर्न र अन्य बँदेल रहेको भए उनिहरुलाई धपाउनका लागि यहाँबाट हुने सम्पूर्ण उडान बन्द गरिएको थियो । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मासुको सफाई गरेर त्यहाँ अब अन्य बँदेल नरहेको निश्चित भएपछि अवरुद्ध भएको विमानस्थल पुन सञ्चालनमा ल्याईएको छ । ‘विमानस्थल अहिले सञ्चालनमा आइसकेको छ, धावनमार्ग सबै सफा गरेपछि सञ्चालनमा ल्याएका हौं,’ प्रमुख झाँले भन्नुभयो । विमानस्थल सञ्चालन भएपछि काठमाडौंबाट बुद्ध र श्री एयर लगायत कम्पनीका जहाज नेपालगञ्ज आएर पनि काठमाडौं फर्किसकेको झाले बताउनुभयो ।
मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार सिता एयरको उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेर दुर्घटना हुनबाट जोगाएका थिए ।
जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको र उक्त जहाजको उडान रद्ध भएका कारण यात्रुहरु घर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बँदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए । बँदेलको मासु धावन मार्गभरी छरिएका कारण पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज सई सन्तोष शाहले बताउनुभयो । सो जहाजलाई पार्किङ क्षेत्रमा ल्याएर राखिएको जनाउँदै उहाँले प्रक्रिया पु-याएर विमानस्थल सञ्चालनमा आइसकेको बताउनुभयो । जहाजसँग ठोक्किएका बदेललाई कानुनी प्रक्रिया पूरा गरी गाडिएको शाहले बताउनुभयो । -गोरखापत्रअनलाईनबाट

Nabintech