४ बैशाख २०८१, मंगलवार
यमपञ्चककाे दाेस्राे दिन आज कुकुर तिहार मनाइँदै, काग तिहार पनि आजै

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०७८, बुधबार ०७:१४

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मनाइँदै छ ।  कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मुलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहँदै आएकाे छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । यस्तै कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व पनि आजै परेकाे छ । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।​  बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनु भयाे । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिइ खुसी पार्ने गरिएको हो । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने मङ्गलवारदेखि नै सुरु भएको छ ।  यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ कागेश्वरी धाम, पशुपति क्षेत्रमा रहेकाे कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेकाे कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गर्नेकाे भीड लाग्छ ।

Nabintech