• ३० श्रावण २०७९, सोमबार
बुबालाई मैले नै पालेको छु (लघुकथा)

  • सुमित्रा न्याैपाने

  • २१ मंसिर २०७८, मंगलवार ०८:५५

बाहिर आँगनमा बसेकाे थिएँ । दुई भाइ छाेराका घर जाेडिएका थिए । कान्छाे अफिसबाट आयाे । सँगसँगै साथीहरू आएका रहेछन् । “मेरो बुबा” भनेर चिनायो । उनीहरूले “नमस्कार बुबा” भनें । नमस्कार फर्काएँ । नमस्कार फर्काउँदा पनि हात थरथरी काँप्छन् । माथि उठ्नै सक्दैनन् । सकीनसकी उठाएँ । कतिलाई त मुखले मात्रै नमस्कार गर्छु ।
उनीहरू पेटीमा बसेर गफ गर्न थाले । “बुबा हजुरसँगै बस्नुहुन्छ ?” दाजुकाे घर सँगै छ भन्ने थाहा पाएपछि उनीहरूले साेधे । कान्छोले हतारिदै भन्यो “हो मसँग।”
ए ए घर सँगसँगै भए पछि बुबालाई पनि दिन कटाउन सजिलो हुन्छ नि ।
के सजिलो हुनु र ? उ पटक्कै हेर्दैन । कहिलेकाही लुगाफाटो, पकेट खर्च बाहेक केही दिन्न उसले ।
ए ए भन्दैउनिहरु मेरो मुखतिर हेरे ।
कान्छोले फेरि दाेहार्यायाे “मैले नै पालेको छु । दाइले राख्न मानेन । फुर्सद हुँदैन रे भाउजुलाई । एउटाले त राख्नै पर्याे नि । आफ्नै बुबा हुन् । तर्केर पनि भएन ।” यो भन्दा बढी मैले सुन्न सकिन । हात मुखभित्र पुर्याएर वाक्क गरें । कान्छो दाैडिदै आयो ।
“के भयो बा ? “
“केही भएको छैन । थुकले गला लाग्यो ।”
” ए ए ठिकै छ नि त ।”
ऊ नजिक आयो र फर्कियो । मेराे मन भने अघिकै ठाउँमा टक्क उभियाे ।
“मेरो जिन्दगीभरिकाे कमाइमा म पालिने थिइन र ?” आफैंलाई प्रश्न गरें । जताततै आफ्नै कमाइ देखिरहेको थिएँ । सन्तान जन्माएँ । हुर्काएँ । पढाएँ । जागिरका लागि योग्य बनाएँ । मेरो कमाइबाट खुट्टा टेकेकाे छाेराले “मलाई पालेकाे घुर्की लगायो ।” यो बुढेसकालकाे जिन्दगी बोझ लाग्यो । फेरि सोचेँ –
मेरो जमिन बेचेर मेरै घडेरीमा घर बनायो । उसको कमाइले उसकै पकेट खर्च पुग्दैन । भात मेरो खेतकाे खान्छ। सबै सम्पत्ति मेरै प्रयोग गर्छ तरपनि मैले बा पालेको छु भनेर पटकपटक घुर्की लगाउँछ । भाते छाेराे । झाेक चल्याे
। उठें “भाेलि मुद्दतीमा राखेको मेरो पचास लाखकाे ब्याज बुझ्ने दिन हो ? जान्छस् त कान्छा ?
Nabintech