२६ बैशाख २०८१, बुधबार
नरैनापुर गाउँपालिका साक्षर घोषणा

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७८, मंगलवार ११:३१

नरैनापुर(बाँके) : बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । सोमबार नरैनापुरमा भव्य समारोहकाबीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई साक्षर घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै साक्षर भएको घोषणा गरे । यसअघि गाउँपालिकालाई साक्षर बनाउन लागि ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए ।

उनका अनुसार नौ हजार पाँच सय १८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन थियो । साक्षर गाउँपालिका घोषणाको लागि १५ देखि ६० वर्ष उमेर समूहका ९० प्रतिशत मानिसहरु साक्षर हुनुपर्छ । नरैनापुरमा यो उमेर समूहका ९६ प्रतिशत बढी नागरिकहरु साक्षर भएपछि पालिकालाई साक्षर घोषणा गरिएको शाखा प्रमुख थारुले बताए ।

सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले ढिलै भए पनि गाउँपालिकाले आफ्नो लक्ष्य पूरा गरेकोमा धन्यावाद दिए ।
गाउँपालिका अध्यक्ष शाहले आफूहरुको लक्ष्यअनुसार नै पालिकालाई साक्षर घोषणा गरिएको बताउदै अझै पनि शिक्षा क्षेत्रमा लगानी गर्न पालिकाले नछोड्ने अध्यक्ष शाहले प्रतिबद्धता जनाए ।
छात्राहरुलाई विद्यालय आउने वातावरण निर्माण गर्नको लागि साइकलसमेत वितरण गरिएको उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले यहाँका नागरिकलाई औंठा छाप लगाउनेबाट हस्ताक्षर गर्नसक्ने बनाइएको जानकारी दिए । आब यहाँका नागरिकहरुले अब औठा छाप नभई आफ्नो हस्ताक्षर आफैँ गर्नसक्ने दावि गरे ।

साक्षर पालिका घोषणाको अवसरमा अभियानमा साथ र सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । नरैनापुरलाई साक्षर पालिका घोषणा गरिएसँगै जिल्लामा साक्षर पालिकाको संख्या ६ वटा पुगेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म नरैनापुरसहित कोहलपुर नगरपालिका तथा खजुरा, जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मात्र साक्षर घोषणा हुन बाँकी रहेको उनले बताए ।

Nabintech