४ बैशाख २०८१, मंगलवार
‘लु’ चल्ने क्रम बढ्दै गएपछि जनजीवन प्रभावित

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०७९, बिहीबार १४:१५

नेपालगञ्ज : केही दिनयता नेपालगञ्ज र आसपासको क्षेत्रमा तापक्रम बढेर ४०–४२ डिग्री सेल्सियस पुग्नुका साथै तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण दिउँसो घरबाट बाहिर निस्कनेहरू घट्दै गएका छन् । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिस बाहिर निस्किने गरेका छन् । अत्यधिक गर्मी र तातो हावाका कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको बीपी चोक निवासी राजेन्द्र थापाले बताए ।

असह्य गर्मी तथा तातो हावाले गर्दा विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । गर्मीकै कारण भार थेग्न नसक्दा विद्युत् आपूर्तिसमेत अनियमित भएर नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको छ । बजारमा फलफूूल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री एक्कासि बढेको छ । पङ्खा, कुलर र एसीको बिक्री पनि बढेको व्यवसायीले जनाएका छन् । गर्मीकै कारण विद्यार्थी सङ्ख्या घट्दै गएको विद्यालयले जनाएका छन्।

यसैबीच प्रचण्ड गर्मी र ‘लु’ले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकहरूले बताएका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप बढ्दै गएको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानी उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकहरूले सुझाव दिएका छन् ।

दैनिक प्रयोग गर्ने भाँडाकुँडा सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुनपानीले धुनुका साथै अत्यावश्यकीय कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन भेरी अस्पतालका प्रवक्ता डा. सङ्केतकुमार रिसालले बताएका छन् । गर्मी र ‘लु’का कारण सबैभन्दा बढी समस्या रिक्सा चालक, ठेला चालक, ठेला व्यवसायी र मजदुरी गरेर जीविका चलाउनेहरूलाई परेको छ ।

Nabintech