८ बैशाख २०८१, शनिबार
असार अन्तिमसम्ममा बाँकेमा २० प्रतिशत मात्र रोपाई

कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन, अलि पहिला बीउ राखेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन्


  • टाइम्स संवाददाता

  • २१ असार २०७९, मंगलवार १५:३१

नेपालगञ्ज : बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाई शुरु भएको छ । बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाई भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए । उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाई शुरु भएको हो ।

असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । किसानले आकाशेपानीले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । बोरिङ, ह्याण्डपम्प चलाएर बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बीउ राखेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन् ।

बाँकेमा यो वर्ष राम्ररी पानी पर्न सकेको छैन । १५ गतेयता हल्का–हल्का वर्षा भएको छ । गौरवको आयोजना सिक्टाले पानी छोडेको छ । सिक्टाले अझै किसानको खेतमै पानी पुर्याउने गरी संरचना बनाइसकेको छैन ।

सिक्टाको पानी खोलानालाहरूमा छोडिएको छ । त्यहाँबाट किसानले पम्पसेट लगाएर पानी खेतमा पुर्याइरहेका छन् । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ ।

आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती राम्रो हुन सकेको छैन । गतवर्ष समयमै धान रोपाइँ भएपनि कात्तिकमा आएको बेमौसमी बाढीले धानमा ठूलो क्षति पुर्याएको थियो । त्यो क्षतिले गर्दा बाँकेमा उत्पादन ह्वात्तै घटेको छ । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पुर्याउने गरेको छ ।

Nabintech