१३ बैशाख २०८१, बिहीबार
बाँकेमा पुल निर्माण प्रदेश सरकारको प्राथमिकतामा

कोहलपुर नगरपालिकास्थित रोहिणी खोला पुल र राप्ती–सोनारी गाउँपालिकास्थित गौरीखोला पुलको निर्माण शुरु


  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार १७:१७

नेपालगञ्ज : बाँकेमा लुम्विनी प्रदेश सरकारद्वारा एकसाथ १४ वटा ठूला पक्की पुलको निर्माण हुने भएको छ । सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख शरदकुमार अधिकारीका अनुसार तीमध्ये दुईवटा पुलको निर्माणकार्य चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको छ । सातवटा पुलको निर्माणकार्य जारी छ ।

थप पाँचवटा पुल निर्माणका लागि डीपीआरको काम भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालयका अनुसार प्रदेश सरकारले बाँकेलाई पुल निर्माणमा प्राथमिकता दिएको छ ।

निर्माण सम्पन्न भएको र निर्माणाधीन गरी सातवटा पुलको कुल बजेट करिब ३७ करोड ५० लाख रुपैयाँ छ । अन्य पाँचवटा पुलको लागत डीपीआर स्वीकृत भएपछि मात्रै एकिन हुने प्रदेश सरकारले जनाएको छ ।

डुडुवा गाउँपालिकाको बेतहनीस्थित डुडुवा नाला पुल र जानकी गाउँपालिकाको साईगाउँस्थित दोन्द्रा नाला पुल निर्माण कार्य सम्पन्न भएको छ । यसैगरी गत आव २०७८/७९ मा सम्झौता भई निर्माण सुरु भएका खजुरा गाउँपालिका २ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा ४ चल्तुवास्थित किरण नाला पुल र बैजनाथ गाउँपालिकाको जिगाउँस्थित बनखेतमा जेठी नाला पुलको काम भइरहेको छ ।

यसैगरी चालु आवमा सम्झौता भएका खजुरा ४ सिर्जनाटोलस्थित किरण नाला पुल, खजुरा १ सैनिक रामपुरेडाडास्थित किरण नाला पुल, कोहलपुर नगरपालिकास्थित रोहिणी खोला पुल र राप्ती–सोनारी गाउँपालिकास्थित गौरीखोला पुलको निर्माण शुरु भएको छ ।

निर्माण ब्यवसायीले समयमै काम नगरिदिँदा गत आवमा सम्झौता भएका तीनवटा पुल यसबर्ष पनि सम्पन्न हुन नसकेको कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले बताए ।

Nabintech