१३ बैशाख २०८१, बिहीबार
राष्ट्रिय गौरवका आयोजनाको अवस्था बेहाल ,२४ मध्ये एउटा मात्रै सम्पन्न !

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार ११:५६

काठमाण्डौ: सरकारले आर्थिक वर्ष २०६८/६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखेर उच्च प्राथमिकतासहित निर्माण कार्य अघि बढाउने घोषणा गरेको थियो । उक्त समयमा समृद्ध नेपालको सडक पूर्वाधार विकासको आधारशिला निर्माण गर्ने, सिँचाई सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने तथा जलविद्युत, विमानस्थल निर्माण आयोजनालाई प्राथमिकतामा राखिएको थियो ।

यसैगरी, राष्ट्रिय गौरवको आयोजनाहरूको सूचीमा खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका आयोजना पनि समेटिएका थिए । एक दशकअघि १७ वटा आयोजना राष्ट्रिय गौरवको सूचीमा परेकोमा हाल हाल थपिएर यस्ता आयोजनाको संख्या २४ पुगेको छ ।

यी २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्म एउटा आयोजना मात्रै सम्पन्न भएको छ । दोलखामा अवस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न भएको हो । यो आयोजना गत वर्ष २०७८ को असारदेखि सञ्चालनमा आएको थियो ।
यसबाहेक, मेलम्ची खानेपानी आयोजनाको निर्माण ९९.४७ प्रतिशत सम्पन्न भएको छ । यो आयोजना हिउँदयाममा सञ्चालनमा आएपनि बर्खायाममा बन्द हुने गरेको छ । यसपछि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९२ प्रतिशत सम्पन्न भएको प्रतिवेदनले देखाएको छ ।

यस्तै, ३ वटा आयोजनाको प्रगति शून्य छ । यीमध्ये रेल्वे तथा मेट्रो विकास आयोजनाको प्रगती शून्य प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । यसैगरी, पश्चिम सेती जलविद्युत आयोजना र राष्ट्रिय प्रसारण लाइनको आयोजनाको समेत प्रगती शून्य प्रतिशत छ । यसबाहेक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकास प्रगती भने नखुलेको प्रतिवेदनमा उल्लेख छ ।

Nabintech