१२ बैशाख २०८१, बुधबार
नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध


  • टाइम्स संवाददाता

  • ६ श्रावण २०७९, शुक्रबार १५:५१

बाँके : नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो । जिल्लामा रहेकाे नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा  ‘हिट वेभ’ सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताउनुभयो ।

उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा सरोकारवाला व्यक्तिको सहयोग आवश्यक पर्ने जानकारी दिनुभयो । कार्यशालामा रेडक्रसले नेपालगञ्जलाई केन्द्रित गरी तातो हावाका सम्बन्धमा गएकाे वर्ष गरेको अनुसन्धानात्मक अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगञ्जमा उच्च तापक्रम भएका वडाहरू, तातो हावाका कारण सङ्कटासन्न वडा एवम् समूह, यसले पारेको असर न्यूनीकरणका लागि गरिएका गतिविधि र आउँदा दिनमा गर्न सकिने पहलबारे प्रस्तुति गरिएको थियो ।

कार्यशालामा सहभागी धेरैले ‘हिट वेभ’को असरलाई कम गर्न पालिकाले सक्रियता देखाउनुपर्ने, जलसञ्चय हुने पोखरी तथा तालहरू संरक्षण गर्नुपर्ने र खुला ठाउँमा वृक्षरोपण गरी हरियाली गर्नुपर्नेमा जोड दिएका थिए । रेडक्रसका सभापति गोवर्द्धन सिंहले ‘हिट वेभ’ का बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताउनुभयो । रेडक्रसका विपद् तथा सङ्कट व्यस्थापन विभाग निर्देशक विपुल न्यौपानेले ‘हिट वेभ’ सम्बन्धी छलफल र नेपाल सरकारको निकायले दिएको तथ्याङ्कको आधारमा ‘हिट वेभ’ को रिपोर्ट तयार गरिएको जानकारी गराउनुभयो ।

रेडक्रसले नमुनाका रूपमा नेपालगञ्जमा सञ्चालन गरिरहेको ‘हिट वेभ’ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममा परामर्शदाता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनामा समुदायस्तरको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  रासस

Nabintech