१३ बैशाख २०८१, बिहीबार
५४.४५ अंकले बढ्यो नेप्से परिसूचक

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार १७:१७

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकपछि शेयर लगानीकर्ताहरु उत्साहित भएसँगै नेप्से बढ्न थालेको छ।मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन आइतबार ६१.०५ अंकले बढेको नेप्से सोमबार ५४.४५ बिन्दुले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.०५ अंक बढेको छ भने फ्लोटइण्डेक्स ४.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०३ अंक बढेको छ।

सोमबार कारोबारमा आएका २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ४ अर्ब १० करोड ६८ लाख रुपैयँ बराबरको शेयर कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ। आइतबार २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोकारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक सवैभन्दा बढी ७.९० प्रतिशतले बढेको छ। यस्तै विकास बैंक उपसमूहको सूचक पनि ५.८४ प्रतिशतले बढेको छ।

सोमवार नेप्से सूचक उच्च अंकले बढ्दा १८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। कारोबार रकमको आधारमा १५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ।

Nabintech