१५ चैत्र २०८०, बिहीबार
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १४:१७

काठमाडौं: सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’

सांसदहरुलाई मास्क लगाउन आग्रह गर्दैगर्दा सभामुख आफैंले भने मास्क लगाएका थिएनन् । संसद बैठक सुरु हुनुभन्दा अगाडि भने उनले मास्क लगाएका थिए । राष्ट्रिय गान बजिसकेपछि भने उनले मास्क खोलेर बैठक सन्चालन गरेका थिए । राष्ट्रियसभामा उत्पत्ति भएको तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई अनुमति दिएपछि मात्र मास्क प्रयोग गरेका थिए ।

नेपालमा सोमबार मात्रै ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म सक्रिय संक्रमितको संख्या ३५३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Nabintech