२४ भाद्र २०८१, सोमबार
कर्णाली नदीले धार परिवर्तन गर्दा नागरिक त्रासमा, तटबन्ध भत्किँदा बस्ती जोखिममा

टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान


  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १२:०२

कैलाली : हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।

नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि कैलालीको टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक जोखिममा परेका छन् ।  नदीले टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान गरेको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक ठाउँमा कटान गरिरहने भएकाले समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउनुहुन्छ ।

टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारुले आफूहरु पनि नदीको त्रासमा रहेको बताउनु भएकाे छ । उहाँले प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैँले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसक्ने ठाउँमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने बताउनुभयो ।

Nabintech