१३ बैशाख २०८१, बिहीबार
बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई, मलको अभाव कायमै

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १२:१२

बारा:मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो । गत वर्षको अनुपातमा यस वर्ष अहिलेसम्म २० प्रतिशत खेतहरू बाँझै रहेका छन् भने गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यसबेलासम्म ८५ प्रतिशत बढी क्षेत्रफलमा किसानहरूले धान रोपी सकेका ज्ञान केन्द्रले तथ्यांकमा उल्लेख छ ।
मलखाद, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको किसानहरूको गुनासो छ । नियमित पानी नपरेको कारण धान रोपाइँ गर्न समस्या भएको बारा आदर्श कोटवाल गाउँपालिकाका किसान योगेश न्यौपानेले बताए । अर्कोतर्फ धान रोप्ने बेलामा अत्यावश्यक पर्ने मलखादको चरम अभावले किसानहरू धान रोप्ने नरोप्ने दोमनमा रहेका उनको भनाइ छ ।

जिल्लामा ६५ प्रतिशत धान रोपाइँ भए पनि सोचे अनुरुप मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजो पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजो परेको हो ।

फाट्टफुट्टबाहेक वर्षा नहुँदा बारा आदर्श कोटवाल गाउँपालिकाका किसानले रामलाल यादवको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजो फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने यादवले गुनासो गरे । उनले वर्षा नहुँदा र मलको समेत अभाव भएका कारण धान सुकेर कामै नलाग्ने हुन लागेको बताए । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ ।

यता जिल्लामा ६४ हजार हेक्टर क्षेत्रफल खेती योग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । खेती क्षेत्रफल बढी रहे पनि सरकारले नै आवश्यकताभन्दा कम जिल्लामा मलको कोटा कायम गरेको कारणले किसानहरुलाई आवश्यक अनुसारको मलको आपूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

जिल्लामा आठ हजार मेट्रिक टन डिएपी, ११ हजार मेट्रिक टन युरिया र पाँच सय मेट्रिक टन पोटासको खपत गरिँदै आए पनि सरकारले १२ सय मेट्रिक टन डिएपी, ६ सय मेट्रिक टन युरिया स्थानीय तहमार्फत किसानलाई वितरण गरिएको निर्धारण गरेकोले धान खेतीको लागि मल अभाव भएको हो ।

खपतको आधाभन्दा कम कोटा निर्धारण गरेर मल बिक्री वितरण गर्नको लागि दिएपछि किसानहरू अवश्यकताअनुसार मल पाउन नसकेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले स्वीकारे । बाराको लागि निर्धारण गरिएको कोटाभन्दा निकै कम मल आएकै कारण धान बालीको लागि किसानलाई चाहिने मलको अभाव भएको र अवश्यकताअनुसारको मल उपलब्ध गराई दिनको लागि माथिले निकायमा पहल गरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवको भनाइ छ ।

धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको र अत्यधिक गर्मी तथा पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको छ । धान बालीको  लागि चाहिने  आवश्यक मलको समेत समयमै व्यवस्थापन गर्न नसकिँदा किसानहरूले खेतमा रोपाइँ गरेको धानको उत्पादनमा समेत कमी आउने डर रहेको छ ।

Nabintech