१४ बैशाख २०८१, शुक्रबार
अढाई करोडको बीमा गराएर कामदारको हत्या : १५ महिनापछि यसरी खुल्यो मास्टरप्लान

  बीमा भुक्तानीको प्रक्रियाकै क्रममा रिलायन्सले आशंका गर्ने केही तथ्य फेला पारे पनि भुक्तानी रोक्न सकेको थियन


  • टाइम्स संवाददाता

  • १४ श्रावण २०७९, शनिबार ०६:३१

नेपालगन्ज : दुर्घटनामा श्रीमानको मृत्यु भएको भन्दै सपना मल्लले २०७८ वैशाखमा रिलाइन्स लाइफ इन्सुरेन्स कम्पनीमा बीमा रकम भुक्तानीका लागि निवेदन दिइन् । बाँकेको कोहलपुर- ११ बस्ने २१ वर्षीय सर्जन विकको २०७८ बैशाख ३ गते मिनीबसको ठक्करले मृत्यु भएको कागजात पेश गरेपछि बीमा कम्पनीलाई रकम भुक्तानी गर्न कर लाग्यो ।

रिलायन्स लाइफ इन्सुरेन्सले चार महिनापछि अर्थात साउन १४ गते बीमा रकमबापतको २ करोड ४२ लाख रुपैयाँको चेक श्रीमती सपनाको नाममा दियो । सपनाले कामना विकास बैंक कोहलपुरमा रहेको आफ्नो खातामा उक्त चेक डिपोजिट गरिन् ।  बीमा भुक्तानीको प्रक्रियाकै क्रममा रिलायन्सले आशंका गर्ने केही तथ्य फेला पारे पनि भुक्तानी रोक्न सकेन । तर, अनुसन्धानको विषय भएको निष्कर्षमा पुग्दै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा निवेदन दियो । निवेदनसँगै रिलायन्सले केही डकुमेन्ट प्रस्तुत गरेको थियो ।

मृतक सर्जनले दुर्घटनामा ज्यान गुमाउनुभन्दा एक महिनाअघि अर्थात २०७७ फागुन २८ गतेमात्र बीमा गरेका थिए । उनले इच्छाएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए । उता सर्जनलाई ठक्कर दिएर ज्यान लिएको आरोपमा मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो । जिल्ला अदालतले २०७८ माघ २५ गते टोपबहादुरलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

सीआईबीको अनुसन्धान के भन्छ ? 

उजुरीपछि प्रहरीले प्राविधिक अनुसन्धान सुरु गर्‍यो । मृतक सर्जनले २०७७ फागुन ५ गते कामना विकास बैंकमा खाता खोलेको देखियो ।  त्यसको ७ दिनपछि कामना विकास बैंकमा सपना मल्लको नाममा खाता खोलेको पाइयो । सपना र सर्जनबीच २०७७ चैत २ गते काठमाडौंमा कोर्ट म्यारिज भएको डकुमेन्ट फेला पर्‍यो ।

अनि बीमा कम्पनीबाट प्राप्त भएको चेक सपनाको खातामा जम्मा भएपछि त्यहाँबाट विभिन्न व्यक्तिको नाममा पैसा ट्रान्सफर भएको बैंक स्टेटमेन्टबाट देखियो । यसबाट प्रहरीले आशंका गर्ने थुप्रै ठाउँ भेट्यो ।

सीआईबीका अनुसार सपनाको बैंक खाताबाट सञ्जीव अर्यालको नाममा ८० लाख ३६ हजार, दीपक केसीको नाममा ६० लाख र आफ्नै आमाको नाममा १७ लाख ४६ हजार रुपैयाँ गएको देखियो । सपनाको खातामा ८६ लाख ८९ हजार रुपैयाँ थियो । सपनाले ती व्यक्तिहरुलाई किन त्यत्रो रकम पठाइन् भन्नेतर्फ अनुसन्धान केन्द्रित भयो । सर्जन सञ्जीवको टिपरका कामदार भएको पत्ता लाग्यो ।

वैशाख २ गते राति ११ बजे टिपरमा बालुवा लोड गर्नुपर्ने भन्दै गएका सर्जनलाई काम सकेर घर फर्कने क्रममा टोपबहादुर रानाले चलाएको मिनीबसले ठक्कर दिएको थियो । सर्जनले चलाएको बाइक उनलाई बीमा गराउने ‘बीमा अभिकर्ता’ सरदार अहमद खाँले चलाउन दिएको पनि खुल्यो ।

मजदुरी गरेर पेट पाल्ने सर्जनले त्यति ठूलो रकमको बीमा गर्ने हैसियत राख्दैनथे । अनुसन्धानबाट पहिलो किस्ताको रकम सञ्जीवले नै तिरिदिएको पाइएपछि शंकाको सुई उनीतिर घुम्यो । विवाह दर्ताको दिनबाहेक मृतक सर्जन र श्रीमती भनिएकी सपनाबीच भेटघाटसमेत भएको पाइएन ।

सीआईबीका अनुसार अस्ट्रेलिया जाने सोचमा रहेकी सपनालाई आरती भन्ने ललिताकुमारी सापकोटाले सञ्जीवसँग भेट गराएकी थिइन् । सञ्जीवले डिपेन्डेन्टमा अस्ट्रेलिया जान सुझाव दिँदै त्यसका लागि आफूले मान्छे खोजिदिने आश्वासन सपनालाई दिएको सीआईबी प्रमुख उत्तम सुवेदीले बताए ।

अस्ट्रेलिया जान पाइने भएपछि मख्ख भएकी सपनाले सञ्जीवले भनेअनुसार गर्दै गइन् । सञ्जीवले सपनालाई टोपबहादुर रानालाई विदेश लैजाने एजेन्टका रुपमा चिनाए । त्यही क्रममा सपना २०७७ मंसिर २७ गते काठमाडौं आइन् ।

एआईजी सुवेदीका अनुसार सर्जन र सपनालाई सञ्जीवले नै कामना विकास बैंकमा खाता खोल्न लगाएका थिए । खाता खोले पनि उनको हस्ताक्षर गर्न लगाएर सबै चेक आफुले लिएको पाइएको छ । खाता खोल्दा उपलब्ध गराएको फोन नम्बरको सिम पनि सञ्जीव आफै लिएर गएका थिए ।  प्रहरीका अनुसार सपना सर्जनको मृत्युबारे बेखबर थिइन् । सञ्जीव आफैले सपनालाई सुनाएका थिए । सर्जनको मृत्यु संस्कारमा सपना सहभागी नभएको पाइएपछि सञ्जीव नै यो मास्टरप्लानको योजनाकार भएको निष्कर्षमा पुग्न प्रहरीलाई गाह्रो भएन ।

सर्जनको दुर्घटना भएको भनिएको दिन सञ्जीवको मृतक, सपना, सरदार अहमद खाँ, मिनीबस चालक टोपबहादुर राना क्षेत्री सबैसँग सम्पर्क भएको प्राविधिक अनुसन्धानमा देखियो ।

सर्जनको बीमा गराई उनलाई दुर्घटनामा पारेर बीमा रकम झ्वाम पार्ने प्रपञ्च सञ्जीवले रचेको सीआइबीको निष्कर्ष छ । आफू विदेश जानेबाहेक अन्य घटनाक्रम र योजनाबारे सपनाले अनभिज्ञता प्रकट गरेकी छन् ।  तर, सपनाले बुझेको चेकबाट योजनाकारसहितका व्यक्तिका खातामा पैसा गएकाले अहिले नै केही भन्न नसकिने जनाइएको छ । विद्यार्थी भिसामा जापान जान लागेको अवस्थामा सपना केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् ।

त्यसअघि नयाँ दिल्लीबाट जापान जान लागेकी उनलाई त्यहाँको अध्यागमनले काठमाडौं फर्काइदिएको थियो । प्रहरीले ३१ वर्षीय सञ्जीव, ३२ वर्षीय सरदार अहमद, ३३ वर्षीय टोपबहादुर, ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटालाई पक्राउ गरेको छ ।

सीआईबीले कुन प्रलोभनमा पारेर सर्जनलाई सपनासँग नक्कली बिहे गराइदिएका थिए भन्ने खुलाएको छैन । ‘अहिले हामी प्रारम्भिक चरणमा छौं, विस्तृत अनुसन्धान अब हुन्छ’, एआईजी सुवेदीले भने ।

Nabintech