११ बैशाख २०८१, मंगलवार
भेरी अस्पतालमा कोभिड–१९ संक्रमितको निशुल्क उपचार हुने

चितवनको भरतपुर अस्पताल, प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई कोभिडको निःशुल्क उपचारका लागि तोकिएको छ 


  • टाइम्स संवाददाता

  • १७ श्रावण २०७९, मंगलवार ०९:५९

नेपालगन्ज: नेपालगन्जस्थित भेरी अस्पतालमा कोभिड–१९ संक्रमितको निशुल्क हुने भएको छ । सरकारले तोकेका देशभरका १७ अस्पताल मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा पनि कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने ब्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत ३१ असारको मन्त्रीपरिषदको निर्णयअनुसार सरकाले निःशुल्क उपचारका लागि देशभरका १७ अस्पताललाई तोकेको हो । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पनि संक्रमितको निशुल्क उपचार हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने ब्यवस्था गरेको जनाएको छ । बिरामीको अत्यधिक भिडभाड रहने काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निःशुल्क उपचारका लागि तोकिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर अस्पताल, प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई कोभिडको निःशुल्क उपचारका लागि तोकिएको छ । मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जमा निःशुल्क उपचार हुनेछ ।
गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बाग्लुङको धौलागिरि अस्पतालमा कोभिड उपचार निःशुल्क हुनेछ ।
कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन् । सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेल्धुरा अस्पताललाई कोभिडको निःशुल्क उपचारका लागि तोकिएको छ ।

Nabintech