१२ श्रावण २०८१, शनिबार
अर्थमन्त्रीमाथिको अनुसन्धान अपुरो, अर्थ मन्त्रालयमा कर्मचारीको भागाभाग

समितिमा बहुमतले कल डिटेल हेर्न दिइएन : प्रदीप ज्ञवाली


  • टाइम्स संवाददाता

  • २२ श्रावण २०७९, आईतवार १३:१८

काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि बनाइएको संसदीय छानबिन समितिको प्रतिवेदन अपुरो भएको दाबी गरेका छन्।  समितिका सदस्यसमेत रहेका ज्ञवालीले अनुसन्धानको अंग पूरा नभई बहुमतको आधारमा प्रतिवेदन बनाएको आरोप लगाएका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘अर्थ मन्त्रालयमा अर्थसचिवको रूपमा कोही जान मानिरहेका छैनन्। राजस्व सचिवलाई नै अर्थसचिवको जिम्मेवारी दिइएको छ। कुनै बेला त्यहाँ सचिवहरु जान हानथाप हुन्थ्यो तर सरकारको गतिविधिका कारणले कर्मचारी सरुवा माग्नेदेखि जानै नमान्ने अवस्था छ।’

देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्दा समेत सरकार मौन बसेको टिप्पणी गरे। करका दर हेरफेर गरेको परिणाम पछिल्लो समय अर्थतन्त्रमा देखिएको दाबी गरे।

‘जेठ १४ गते राति करका दर हेरफेर गर्ने वेला बाह्य व्यक्तिको प्रवेशबारे प्रसंग उठ्यो। हामीले छानबिन समिति बनायौँ। छानबिन समितिले सबै अंग पूरा गर्न पाएन। सिसिटिभीको रिकभर हेर्दा स्पष्ट देख्न सकिएन। अध्ययन अनुसन्धानका लागि कल डिटेललगायतको काम हुनै पाएन’‚ उनले भने, ‘छानबिन समितिमा अल्पमत र बहुमत भयो तथ्यमा आधारित हुन सकेन। अर्थतन्त्र गम्भीर अवस्थामा छ। अर्थमन्त्रीले गभर्नरमाथि हस्तेक्षप गर्नुहुन्न। कर्मचारी बस्न मिल्दैन। प्रधानमन्त्रीज्यूलाई पोल्दैन?’

उनले फेरि अर्थमन्त्रीमा जनार्दनलाई नै फर्काएको भन्दै कानुनी र नैतिक उन्मुक्ति फरक फरक हुने भन्दै व्यंग्य गरे। अनुसन्धान अधुरो रहेकाले सार्वजनिक रूपमा प्रश्न खडा भएको उनले बताए।

Nabintech