७ बैशाख २०८१, शुक्रबार
‘सम्झना बिर्सना’ भारतमा पनि रिलिज हुने

  • टाइम्स संवाददाता

  • २२ श्रावण २०७९, आईतवार १३:२४

काठमाडौं : नेपालपछि प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ रिलिज हुने भएको छ ।
निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलिगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुने सुनाए ।

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदैछ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् । दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ ।

Nabintech