१२ श्रावण २०८१, शनिबार
जीर्ण बन्दै बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना

खुल्ला कारागारका संरचना प्रयोगविहीन भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदी÷बन्दी बस्न बाध्य  छन्


  • रासस

  • २२ श्रावण २०७९, आईतवार १३:३४

बाँके: बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो । त्यहाँ दुई वर्ष अघि निर्माण भएको ३६ कोठे भवन पनि प्रयोगमा आउन सकेको छैन ।

खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले बताउनुभयो ।     उहाँका अनुसार कारागार सञ्चालन हुन नसक्दा भवन जीर्ण बन्दै गएका हुन् । दुई तिहाई कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीलाई निश्चित शर्तको आधारमा खुला कारागारमा राख्ने अवधारणा अनुसार बाँकेको गनापुरमा उक्त कारागार बनाइएकोे हो । यसका लागि सञ्चालन कार्यविधि नबन्दै निर्माण भएका भौतिक संरचना अहिले बेवारिसे अवस्थामा पुगेका हुन् ।

खुला कारागार सञ्चालनका लागि सुझावहरु पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको कारागार प्रमुख  सोनकरले बताउनुभयो । खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि छ–छ वटा शौचालय छन् । त्यहाँ  निर्मित कारागार भवन र प्रशासनिक भवन एक चौकीदारको भरमा छोडिएको छ ।     संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ विघा र तत्कालिन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ ।

उक्त जमिन त्यहाँ राखिने कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो । “कैदीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो”, उहाँले भन्नुभयो । खुल्ला कारागारका संरचना प्रयोगविहीन भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदी÷बन्दी बस्न बाध्य  छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदी/बन्दीलाई ब्यवस्थापन गर्न समस्या भएको कारागार प्रमुख  सोनकरले बताउनुभयो ।

Nabintech