७ बैशाख २०८१, शुक्रबार
जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर भन्दा बढी कैदीबन्दी

कारागारमा सबैभन्दा धेरै करणी मुद्दाका कैदी तथा थुनुवा छन


  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७९, सोमबार ०८:२४

बागलुङ : जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ।

पुरुष ५० र महिला २० जना गरी ७० जनाको क्षमता रहेको कारागारमा हाल १७६ कैदीबन्दी छन्। कारागारमा पुरुष १६६ र महिला १० जना छन्। एक जना ६४ वर्ष उमेरका छन्।

महिला कैदीबन्दीसँग हाल तीन जना नाबालकसमेत छन्। कारागारमा हाल ८१ कैदी र ९५ थुनुवा छन्। कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन्। कारागारमा ठाउँ अभाव हुँदा महिला भन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको छ।

ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न, हिँडडुलमा समस्या भएको छ भने शौचालयमा पनि पालो कुर्नुपर्ने समस्या रहेको जिल्ला कारागार बागलुङ कार्यालयका प्रमुख डिलबहादुर केसीले जानकारी दिए।

‘क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी छन्। ठाउँ सानो छ। पुरुष कैदीबन्दीलाई बस्न, सुत्न र चर्पी जान निकै अप्ठ्यारो छ’, कारागार प्रमुख केसीले भने ‘महिला कैदीबन्दीलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जना मात्रै छन्।’

कारागारमा सबैभन्दा धेरै करणी मुद्दाका कैदी तथा थुनुवा छन्। जबरजस्ती करणीका २२ कैदी र २२ थनुवा, हाडनाता करणीका पाँच कैदी र दुई थुनुवा तथा जबरजस्ती करणी उद्योगमा पाँच कैदी र तीन थुनुवा गरी कुल ३२ कैदी र २७ थुनुवा छन्।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा २२ कैदी र ३१ थुनुवा गरी ५६ जना रहको केसीले जानकारी दिए। कर्तव्य ज्यान मुद्दातर्फ पुरुषतर्फ २१ कैदी र २७ थुनुवा छन् भने महिलातर्फ तीन कैदी र चार थुनुवा छन्। लागुऔषध मुद्दामा कैदीतर्फ चार र पाँच थुनुवा गरी नौ रहेका छन्। सवारी ज्यान मुद्दातर्फ कुल एक कैदी र सात थुनुवा छन्।

ज्यान मार्ने उद्योगतर्फ एक जना कैदी छन् भने सात थुनुवा छन्। बहुविवाहतर्फ नौ थुनुवा र एक जना कैदी छन्। नौ थुनुवामध्ये दुई महिला छन्।

चोरीको मुद्दामा हाल दुईजनाले कैद बिताइरहेका छन् भने आठथुनुवा छन्। मानव बेचबिखन मुद्दामा एक कैदी छन् भने एक जना थुनुवा छन्। हातहतियार खरखजाना मुद्दामा नौ  जनाले कैद भुक्तान गरिरहेका छन् भने एक जना थुनुवा रहेका छन्।

त्यस्तै, ठगी मुद्दामा एक, वैदेशिक रोजगारी कसुरमा एक जना कैदी छन्। कारागारमा भएको समस्याको समाधानका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको कारागार कार्यालयको भनाइ छ।

Nabintech