१४ बैशाख २०८१, शुक्रबार
‘प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनपर्छ’

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १६:२७

काठमाण्डाै : नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम उत्पन्न भएको बताउनुभएको छ ।  आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले अहिले सङ्घ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्रत्यक्ष निर्वाचनतर्फ सङ्घ र प्रदेशमा ५०/५० प्रतिशत महिला उम्मेदवारी दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका छौँ । अर्काे महत्त्वपूर्ण विषय भनेको सङ्घ र प्रदेशमा अनिवार्य एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था संविधानमा गरेका छौँ । यसले सदियौँदेखि हेपिएकाहरू निर्णयक तहमा पुग्ने स्थिति बनेको छ । तर समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भएको छ ।’ सांसद शर्माले पितृसत्तात्मक सोचाइ हटाउनका निम्ति बाध्यात्मक कानुनी व्यवस्था गर्न माग गर्नुभयो ।

यस्तै सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागितालाई व्यावहारिक कार्यान्वयन गराउन निर्वाचनका दुवै प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन प्रणालीमा महिला र पुरुष दुवैको समान प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद लक्ष्मीकुमारी चौधरीले आउँदाे प्रदेश र सङ्घीय निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्दै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन ध्यानाकर्षण गराउनुभयो । सांसद चन्दा चौधरीले राजनीतिक दलले विभिन्न निर्वाचनमा महिलाको कम प्रतिनिधित्व गराउने गरेको बताउँदै अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन माग गर्नुभयो ।

Nabintech