६ चैत्र २०८०, मंगलवार
नगर क्षेत्रमा रहेका युवा पुस्ताहरूको विषयमा स्थानीय सरकार संवेदनशील : नगर प्रमुख आचार्य

स्थानीय सरकारले अधिकार प्रयोग गर्ने


  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७९, बिहीबार १६:०२

कोहलपुर  : स्थानीय सरकार नै संवेदनशील भएर युवामैत्री नीति निर्माण र रोजगारीसहितको वातावरण सिर्जना गर्न अग्रसर हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कोहलपुरमा आयोजित जनप्रतिनिधिसँग युवा विषयक अन्तरक्रियाका सहभागीहरूले यस्तो बताएका हुन् ।

समाज सुधार कार्यक्रम नेपालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागी युवाहरूले स्थानीय सरकारले नीति तथा कार्यक्रम अवलम्वन गर्दा विभिन्न क्षेत्रसँग जोडिएका युवाहरूको प्रतिनिधित्व हुने गरी अवसर र स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिन स्थानीय नगर सरकारलाई सुझाव दिए ।

पछिल्लो समयमा माध्यामिक तहपछि विद्यार्थीहरू उच्च शिक्षा आर्जनका लागि अस्ट्रेलिया, जापान, युके लगायतका मुलुकहरू रोजाईमा पर्ने र अध्ययनको लागि विदेशिएका युवाहरू विदेशी भूमिलाई नै कर्मथलो बनाउँदा दक्ष जनशक्ति मुलुकले गुमाइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सहभागी युवा प्रतिनिधीहरूका प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले नगर क्षेत्रमा रहेका युवा पुस्ताहरूको विषयमा स्थानीय सरकार संवेदनशील रहेको बताए ।

उनले नीति तथा कार्यक्रममा युवालक्षित कार्यक्रम सञ्चालन गरेर सीप र योग्यता अनुसारका युवाहरूलाई स्थानीयस्तरमै सीपमूलक तथा रोजगारमूलक कार्यक्रम तथा गतिविधिहरू सञ्चालन हुने प्रतिबद्वता जनाएका छन् । नगर प्रमुख आचार्यले रोजगार बैंकको अवधारणा अनुसार कोहलपुरमा रोजगार बैंक स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्नका लागि नीति तथा कार्यक्रममा धेरै युवामैत्री नीति समावेश गरेको बताए ।

नगर क्षेत्र भित्र सञ्चालनमा रहेका उद्योगहरूमा स्थानीयले रोजगारीको लागि पहिलो प्राथमिकता पाउने गरी स्थानीय सरकारले अधिकार प्रयोग गर्ने बताए । कार्यक्रममा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, राष्ट्रिय युवा परिषद् बाँके अध्यक्ष खेमराज शर्माले अन्तरक्रियामा उठेका विषयहरूमा आफ्नो धारणा राखेका थिए । नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वडको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आयोजक संस्थाका सचिव शंकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Nabintech