काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने उद्देश्य नभएको बताउनुभएको छ । फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका प्रमुख शाहले भन्नुभयो “फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । प्रतिविद्धतामा हामी इमानदार, सचेत र संवेदनशील छौँ ।”

गत जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिका बीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्नुभएको छ ।

प्रहरी प्रशासनको सहयोग लिएर मङ्गलवार १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्न लगायतका मागहरू पूरा हुनुपर्ने बताउँदै उनीहरूले सडकमा अवरोध गर्दै आएका छन् ।

महानगरपालिकाले आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानी तयारी गरेको । सशस्त्र प्रहरी बेस क्याम्प बन्चरेका नायव निरीक्षक युवराज रिजालका अनुसार स्थानीयहरू डाँडामा जम्मा भएर बसेका छन् । ढाँड खोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठुलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।