७ बैशाख २०८१, शुक्रबार
कारागार बैतडीभित्र कोरोना संक्रमण, १६ जना कैदिबन्धिमा कोरना पुष्ठि

क्षमताभन्दा ४ गुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेसनमा बसाउन भने कारागार प्रशासनले सकेको छैन


  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार १९:५६

बैतडी : जिल्ला कारागार बैतडीभित्र कोरोना संक्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारमा रहेका १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कैदीबन्दीमा ज्वरो, रुघाखोकी भएर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको भण्डारीको भनाई छ। पिसिआरबाट ४ र एन्टिजेनबाट १२ जनाको गरि परीक्षणमा १६ जनालाई संक्रमण देखिएको हो।

उनले भनिन्, ‘कोरोनाजस्तै लक्षण देखिएका ४ कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौं। उनीहरूमा संक्रमण पुष्टि भएपछि अन्य ८९ जनाको पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा संक्रमण देखा परेको छ।’

संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न भने समस्या भएको छ। क्षमताभन्दा ४ गुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेसनमा बसाउन नसकिएको प्रमुख भण्डारीले बताइन्।

उनले भनिन्, ‘२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना रहेका थिए, उनीहरुकै व्यवस्थापन गर्न निकै समस्या रहेका वेला कोरोना फैलिएपछि झनै समस्या भएको छ।’

यसैबीच कारागारमा कोरोना संक्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्नमा रोक लगाइएको छ। संक्रमणको जोखिम मद्देनजर गर्दै भेटघाट बन्द गरिएको हो।

२५ जना क्षमताको कारागारमा थुनुवा २७ र कैदी ६६ गरेर जम्मा ९३ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा झण्डै ४ गुणा कैदीहरू हुँदा ठाउँ अभावले बसाइ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ।

विसं २०४० सालमा निर्माण भएको कारागार मर्मत र पुनर्निर्माण नहुँदा जीर्ण बनेको छ।

Nabintech