१४ बैशाख २०८१, शुक्रबार
महेन्द्र पुस्तकालयलाइ ३ लाख दिने मन्त्री राइको घोषणा

पुस्तकालयको अमृत महोत्सब आज नेपालगन्जमा मनाइएको छ


  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७९, शुक्रबार १७:०६

नेपालगञ्ज : नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले महेन्द्र पुस्तकालयलाई व्यक्तिगत ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

पुस्तकालयको अमृत महोत्सबलाई शुक्रवार नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री राईले पुस्तकालयको स्तरोन्नतिका लागि आफूले तत्काल ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले महेन्द्र पुस्तकालय नेपालगञ्जको धरोहर रहेको बताउँदै यसको विकास र संरक्षण जरुरी रहेको उल्लेख गरे । पुस्तकालय ज्ञानको भण्डार भएकाले यो निकै उपयोगी रहेको मन्त्री राईले बताए ।

अमृत महोत्सबमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभाका सांसदद्वय आइपी खरेल, कृष्णा केसी नमुना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्वमा भएको थियो ।

सो अवसरमा पुस्तकालयले स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म पुस्तकालय कार्यसमितिका सदस्य तथा कर्मचारीहरुलाई अमृत महोत्सव पदकसहित सम्मान गरिएको तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीले बताए ।

वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय पछि महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचन गर्ने पुस्तकालयले जनाएको छ ।

Nabintech