१५ चैत्र २०८०, बिहीबार
माओवादीको २१ सदस्यीय पदाधिकारी, महिला जम्मा एक

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार ०६:०९

काठमाडौं – नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । माओवादीले आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको छ । समानुपातिक समावेशी प्रतिनिधित्व सहितको वर्तमान राज्य व्यवस्थाका हिमायती पार्टीको रूपमा स्थापित माओवादीको पदाधिकारी भने असमावेशी बनेको छ ।  माओवादीले २१ सदस्यीय पदाधिकारी बनाएको छ । तर पदाधिकारीमा एक जना मात्र महिलाले स्थान पाएका छन् । उनी हुन, पम्फा भुसाल । पम्फाले उपमहासचिवको जिम्मेवारी पाएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्ष, कृष्णबहादुर महरा रहेको छन् भने देव गुरुङ महासचिव बने ।  त्यसैगरी, वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल उपमहासचिव बने ।

दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीले सचिवको जिम्मेवारी पाउँदा श्रीराम ढकालले कोषाध्यक्षको जिम्मेवारी पाए ।  माओवादीले पम्फा भुसाललाई उपमहासचिव बनाएर नेतृत्व तहमा महिलाको प्रतिनिधित्व गराउने प्रयास गरे पनि पदाधिकारीमा दलित समूदायका एक जना पनि परेनन् ।

माओवादीमा महिला र दलित समुदायको नेतृत्व नभएका होइनन् । तर, पदाधिकारी चयन गर्दा माओवादीले महिला र दलितको प्रतिनिधित्वको सवालमा कन्जुस्याइँ गरेर वर्तमान व्यवस्थाकै उपहास गरेको आलोचना हुन थालेको छ ।

Nabintech