१४ बैशाख २०८१, शुक्रबार
पहिरोका कारण मकवानपुरको विभिन्न सडक खण्ड अवरुद्ध

  • रासस

  • ५ भाद्र २०७९, आईतवार १०:१०

मकवानपुर । गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडक खण्ड अवरुद्ध भएका छन् ।

वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडक खण्ड र कान्तिलोकपथ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको सिस्नेरी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो ।

यस्तै पहिरो जाँदा कान्तिराजपथ सडक खण्ड पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने सडक खण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

यस्तै उक्त सडक खण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडक खण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ ।

Nabintech