१५ चैत्र २०८०, बिहीबार
माधवलाई भीमको जवाफ : हामी १० बुँदेमा नअडेको भए देश डुब्ने रहेछ

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार १२:५३

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जवाफ फर्काएका छन्। अध्यक्ष नेपालले एमालेमा केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेर बसेका १० भाइको बिजोग रहेको कटाक्ष गरेपछि त्यसको जवाफ फर्काएका हुन्।

अध्यक्ष नेपालले शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘ओलीको सामु समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौँ। अहिले १० भाइको एमालेमा हरिबिजोग छ। हामीलाई त्यस्तो स्वीकार्य छैन। हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ। हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिती देखाइसकेका छौँ।’

ओली र माधव नेपालद्वारा निर्मित कार्यदलबाट तयार पारेको १० बुँदे सहमति गरेर नबसेको भए देशको हरिबिजोग हुने उनले बताए।

अध्यक्ष नेपाललाई जवाफ फर्काउँदै नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भागवण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।’

उनले गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भागवण्डा र सिद्धान्तहीन तालमेल गरेको आरोप लगाए।

एमालेबाट माधव नेपालले विद्रोह गर्ने बेलामा नेता रावलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहोराले साथ छाडेका थिए। अहिले अध्यक्ष नेपालसँग ती नेताहरूको अहिले आरोप प्रत्यारोप हुने गरेको छ।

Nabintech