१३ बैशाख २०८१, बिहीबार
भोलीदेखि कर्मचारीले कालोपट्टी बाँधेरमात्र काम गर्ने

कर्मचारीहरुले खाईपाई आएका सुविधासमेत कटौती गर्नु खेदजनक


  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार १३:४२

काठमाडौं: कर्मचारी मैत्री र सेवा मैत्री निजामती सेवा ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले भोलीदेखि कालोपट्टी लगाएर विरोध गर्दैछन् ।

आन्दोलनस्वरुप आज (आइतबारु) बिहान ९ बजेदेखि सिंहदरबार गेटमा उनीहरुले पर्चा बाँडेका थिए  । पर्चामा भोलिदेखि १७ गतेसम्म सबै कार्यालयमा आफ्ना माग लेखिएका कालो ब्यानर राख्ने र हातमा कालोपट्टी बाँधेर कामकाज गर्ने घोषणा गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती),एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त ट्रेड युनियन सञ्जालको ब्यानरमा रहेर उनीहरुले विरोध जनाएका हुन् ।

जबरजस्ती कर्मचारी समायोजन गर्नु, कर्मचारीसंग सम्बन्धित कानूनहरु निर्माण गर्दा सम्बन्धित सरोकारवालाहरुसंग छलफल नगर्नु एवं कर्मचारीहरुले खाईपाई आएका सुविधासमेत कटौती गर्नु खेदजनक भएको उनीहरुले बताएका छन् ।

आन्दोलित कर्मचारीहरुले कर्मचारी मैत्री संघीय,प्रदेश र स्थानीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग राखेका छन् । उनीहरुले अस्थायी,करार र ज्यालादारीमा रहेका कर्मचारीको न्यायोचित व्यवस्थापन गर्न र सबै पदका कर्मचारीको पद सोपानबमोजिम तलबमान कायम गर्न पनि माग गरेका छन् ।

Nabintech