७ बैशाख २०८१, शुक्रबार
भुकम्पको जोखिम : नेपालगञ्जमा बस्ती तथा भूबनोटको सर्वेक्षण शुरु

बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको भावर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत शनिबार मात्रै ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो


  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७९, सोमबार १५:५४

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा सम्भावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण शुरु गरेको छ ।

क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उनका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ नं वडालाई आधार मानेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि सर्वेक्षण भइरहेको छ ।

बस्तीमा रहेका साँघुरो घर, गल्ली, जीर्ण घर, अस्तव्यस्त तार, घरको नक्सा तथा भूकम्प जोखिमबारे घरमा पुगेर अध्ययन भइरहेको अध्ययनमा संलग्न युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले बताए ।

यो अध्ययनबाट नगर क्षेत्रमा आवश्यक खुला क्षेत्रको अवस्था, आश्रय स्थल, स्वास्थ्य चौकीलगायतको विषयमा प्रष्ट जानकारी हुने र विपद् प्रतिकार्यमा सहयोगी हुने उनको भनाइ छ । भूगर्भविद्का अनुसार, नेपालगञ्ज क्षेत्रको भूबनोट कमजोर रहेका कारण भूकम्पीय हिसाबले उच्च जोखिममा छ । बाँकेमा केन्द्रबिन्दु भएर भूकम्प नआएको भएपनि भूकम्पीय जोखिममा रहेको प्राध्यापक भूगर्भविद् डा दीपक चौलागाईंले बताए ।

बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको भावर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत शनिबार मात्रै ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको उनले जानकारी दिए । उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँकेले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरेको छ ।

Nabintech