१४ बैशाख २०८१, शुक्रबार
बन्दकर्ताले दाङमा बिहानै टिप्पर जलाए ! कोटेश्वरमा बस तोडफोड

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार ०७:०४

दाङ-  दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।  घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।
तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।
आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए ।

Nabintech