१५ चैत्र २०८०, बिहीबार
कर्णालीमा फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्रविधि जडान गरिँदै

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १६:०४

सुर्खेत : फोहोरबाट विद्युत निकाल्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रविधि जडान गर्न लागेको छ।जनसंख्याको चापसँगै बढ्दो शहरीकरण दैनिक बढिरहेको भन्दै मन्त्रालयले मानवीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत उत्पादन गर्नका लागि प्रविधि जडान गर्न लागेको बताएको छ।

आर्थिक वर्ष २०७९।८० मा बजेट विनियोजन गरी फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

देशका अन्य ठाउँमा समेत यो प्रविधिबाट काम सुरु भएको भन्दै अत्यन्तै ऊर्जा कम उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्न लागिएको मन्त्री सिंहको भनाइ रहेको छ।

मन्त्रालयले यो कार्यका लागि २० लाख रुपैयाँ पहिलो चरणमा खर्चिन लागेको हाे। पहिलो चरणको यो कार्य सफल भएमा फोहोरबाट विद्युत निकाल्नका लागि अन्य ठाउँमा समेत विस्तार गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए।

अहिले सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दिल्ली, कालीमाटी, सल्यानका केही भागमा बसोवास बाक्लो रहेको छ। जनसंख्या बाक्लो रहेको ठाउँमा फोहोरसमेत बढी उत्पादन हुने भएकाले सोही फोहोरबाट विद्युत् उत्पादनको काम युद्धस्तरमा हुन सके फोहोर व्यवस्थापनका साथै ऊर्जा उत्पादनबाट लाभ लिन सकिने मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिए।

कर्णालीमा यो पहिलो अभ्यासका रूपमा लिइएको छ। त्यस्तै पीपीपी मोडलमा सौर्य प्राविधि जडान कार्यसमेत गर्न लागिएको छ। विद्युत्‌को बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रूपमा विद्युत् उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ। यसबाट वातावरण प्रदूषित हुनबाट जोगिनका लागिसमेत सघाउ पुग्ने अपेक्षा लिइएको छ।

Nabintech