१४ बैशाख २०८१, शुक्रबार
एसिया कप छनोटमा हङकङको लगातार दोस्रो जित

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७९, बुधबार १०:११

काठमाण्डौ: शनिबार सुरु हुने टी–२० एसिया कप क्रिकेटको क्वालिफायर खेलमा हङकङ छनोट नजिक पुगेको छ। मंगलबार भएको आफ्नो दोस्रो खेलमा कुवेतलाई आठ विकेटले पराजित गर्दै छनोटमा लागतार दोस्रो जित निकाल्यो।

छनोट हुने टिमले भारत र पाकिस्तानको समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ। ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो।

खराब सुरुवातका बाबजुत पछिल्लो क्रम सम्हालिँदा कुवेतले प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो। कुवेतका लागि एडसन सिल्भाले सर्वाधिक ५६ रन बनाउँदा मोहम्मद अस्लामले २१ तथा उस्मान पटेलले १९ रन बनाए। हङकङका लागि अजाज खान, एसन खान र यसिम मुर्तजाले समान २–२ विकेट लिए।

१५२ रनको लक्ष्य पछ्याएको हङकङले उत्कृष्ट ब्याटिङ गर्दै सहज जित निकाल्यो। हङकङका सुरुवाती तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दा १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। उसका लागि बाबर हायत ५३ रनमा अविजित रहँदा कप्तान निजाकत खानले ५० तथा यसिम मुर्तजाले ४६ रन बनाए।

चार राष्ट्र सहभागी छनोटमा विजेताले टिममा स्थान बनाउने छ। चार अंकका साथ हङकङ शीर्ष स्थानमा रहँदा युएई २ अंकका साथ दोस्रो र कुवेतपनि २ अंक सहित रनरेटमा पछि रहँदै तेस्रो तथा सिंगापुर अंकविहीन रहँदै चौथो स्थानमा छन्।

हङकङले अन्तिम तथा निर्णायक खेलमा युएईसँग आज राति प्रतिस्पर्धा गर्दै छ। हङकङ विजयी भएमा लगातार तीन जितसहित एसिया कपमा छनोट हुनेछ। पराजित भए भने नेटनरेटका कारण युएईले एसियाकप खेल्ने सम्भावना बलियो छ।

चार अंकका साथ शीर्ष स्थानमा रहेको हङकङको नेटनरेट ०.७१६ रहँदा दुई अंक बनाएको यूएईको नेटरनरेट १.०४५ रहेको छ। त्यसैले युएई र हङकङ दुवैका लागि यो खेल ‘गर या मर’ का रूपमा रहेको छ।

यूएई पहिलो खेलमा कुवेतसँग एक विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ४७ रनले पराजित गर्न सफल भएको थियो। पहिलो खेलमा हङकङले सिंगापुरलाई आठ रनले पराजित गरेको थियो।

Nabintech