नेपालगञ्ज: भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नेपाली जडीबुटी नसमेटिँदा बाँकेको नेपालगञ्जमै जडीबुटी थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको हो । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् ।
कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो रु एक करोड मूल्यबराबरको उत्पादन थन्किएको बताए । नेपाल जडीबुटी सङ्घ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो । यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन । केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन–अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उहाँको आरोप छ ।