प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको शुभकामना दिँदै विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालमा सन्देशमा लेख्दै प्रधानमन्त्री शाहले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको बताएका छन् । उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको उल्लेख गरेका छन् ।
‘बडाको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्बसमेत हो,’ उनले भनेका छन्, ‘देशभित्रका विभिन्न स्थानहरूबाट मात्र होइन, देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा दसैँ युगौँदेखि परिचित छ।’
उनले दसैँको माहोलको आकाश नै अलग हुने र धर्तीको सुगन्ध छुट्टै हुने भन्दै यस्तो वातावरणले त्यसै–त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुने भन्दै दसैँको महिमा गरेका छन् ।
‘सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि होला, दसैँ निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको छ,’ उनले भनेका छन्, ‘ससाना बाबुनानीहरूका लागि त झनै विद्यालय बिदा भएपछि खाने, खेल्ने र नयाँ९नयाँ लुगा लगाएर मामाघर जानेजस्ता फुरुङ्ग पार्ने गतिविधिले अर्कै उत्साह ल्याउने गर्दछ र त्यसले पनि वातावरणलाई थप पुलकित पार्ने गर्दछ। आर्थिक गतिविधिका हिसाबले समेत बडादसैँ नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ।’
उनले नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका बताएका छन् ।
‘कुनै बेला विनाशकारी भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दसैँ आयो र गयो, अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दसैँ आयो,’ उनले भनेका छन्, ‘हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ। यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दसैँ आइपुगेको छ। ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु।’
उनले सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको जानकारी पनि दिएका छन् ।
‘असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि दसैँ मनाइने गरिन्छ, आसुरी प्रवृत्तिमाथि दैवी विजयको धार्मिक मान्यता बोकेको दसैँको अवसरमा सम्पूर्ण नेपालीहरूमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस्, सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभभाव व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु।’
उनले पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको तीतो यथार्थलाई पनि स्मरण गरेका छन् । ‘हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा दृढ विश्वास व्यक्त गर्दै सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु,’ उनले भनेका छन्, ‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ। आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ। आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिइरहेको जानकारी पनि गराउन चाहन्छु।’
उनले दसैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादसैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सभ्य र भव्य रूपमा दसैँ मनाउन प्रधानमन्त्री शाहको अपिल छ ।



















