१३ बैशाख २०८१, बिहीबार
मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचनामा डोजर

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७९, बुधबार १५:३७

काठमाण्डाै:  काठमाण्डौ महानगरपालिकाले नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले बनाएका संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचना डोजर लगाएर हटाइएको हो । महानगरले आज सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ भने अन्डरग्राउन्डमा राखिएका पसल पनि भत्काएको छ ।

यस्तै न्युरोडको आरबी कम्प्लेक्समा पनि नक्सामा उल्लेख भएभन्दा बाहिरका संरचना महानगरले हटाइदिएको छ । महानगरले आजै न्युरोडको रञ्जना गल्लीमा रहेका अवैध पसल र संरचनामा पनि डोजर चलाएको छ । मेयर बालेन्द्र साहसहितको महानगरको टोलीलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले पनि सहयोग गरिरहको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डसहितको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेको भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।

महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने देखाएको छ ।

Nabintech