७ बैशाख २०८१, शुक्रबार
बाँकेको नरैनापुरमा बैकल्पिक बाली लगाउन सुझाव

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १४:०३

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाई नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि पानी नपर्दा सुकेको छ । अब गहुँखेती गर्नुअगाडि कोशेबाली सम्भव भएकाले त्यस्ता बाली लगाउन सुझाव दिइएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा पानी कम भए पनि खेती हुने, छोटो अवधिको मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बाली अर्थात तोरी खेती पनि गर्न सकिन्छ ।

किसानले नगदे बालीको रुपमा बन्दागोभी पनि लगाउन सक्ने विज्ञले बताएका छन् । यसअघि सुक्खा क्षेत्रको अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो ।

बाँकेको नरैनापुरमा झण्डै ९० प्रतिशत क्षेत्रमा धानखेती हुने गरेकोमा यसपाली खडेरी परेपछि रोपाइँ हुन सकेन । नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो ।

अहिले रोपाई भएकोमध्ये पनि आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ ।

Nabintech