७ बैशाख २०८१, शुक्रबार
सुदूरपश्चिममा एकीकृत समाजवादीमा धक्का, पूर्वमन्त्रीसहित ३ नेता एमाले फर्कंदै

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १४:३९

धनगढी : नेकपा (एकीकृत समाजवादी)को पार्टी पुनर्गठन दिवस आज मनाइरहेको छ। माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले देशभर पुनर्गठन दिवस मनाइरहेको हो।

तर, एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्।

उनीहरु केही दिनमै एमालेमा फर्किन लागेको स्रोतले बतायो। सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका तारा लामा तामाङले एमालेमा फर्किने तयारी थालेको बताए।

‘अब मुल घर एमालेमै फर्कने हो। माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनु हुन्छ। हामी पनि त्यही निर्णयमा पुग्यौं’ उनले भने।

यस्तै, समाजवादीका पूर्व प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधव नेपाललाई साथ दिएर आत्मग्लानि भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए।

पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो। त्यसबापत पछुतो र आत्मग्लानि भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु’ उनले बिहीबार बिहानै फेसबुकमा लेखेका छन्।

यस्तै बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दले पनि एमालेमै फर्किन लागेको जनाएका छन्।  एमालेबाट विद्रोह गरेर पार्टी खोलेका माधव नेपालले नेकपा माओवादी केन्द्रसँगै सहकार्य गरि अघि बढ्ने योजना बनाएपछि यी नेता एमालेमा फर्किन लागेको बताइएको छ।

 

Nabintech